नेपाल एक विकासोन्मुख कृषि प्रधान मुलुक हो । यहांका वहुसंख्यक जनताहरु कृषि पेसामा आश्रित छन् । देशको आर्थिक विकासको लागि कृषिको विकास अपरिहार्य छ । यही तथ्यलाई मध्यनजर गर्दै वहुसंख्यक कृषकहरुको जीवनस्तर उकास्नका लागि उन्नत कृषि प्रविधिहरुको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल सरकारको कृषि नीतिलाई कार्यान्वयन स्तरमा उतार्ने जिल्ला स्तरीय प्रमुख निकायको रुपमा यस कार्यालयको स्थापना वि.सं. २०२४ सालमा भएको हो । शुरुका दिनहरुमा कृषि कार्यको लागि जिल्ला पंचायत र प्रमुख जिल्ला अधिकारीको कार्यालयमा इकाईको रुपमा स्थापना भएपनि २०३० साल देखि बेग्लै अस्तित्व सहित कृषि विकास कार्यालयको संगठन स्वरुप अनुसार कार्य संचालन भएको देखिन्छ । कृषि विभागको पटक पटक परिर्वतन भएको सांगठनिक ढाँचा अनुसार कहिले कृषि विकास कार्यालय त कहिले कृषि शाखा हुंदै वि.सं. २०५२ सालदेखि यस कार्यालयले जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको नामबाट यस जिल्लामा कृषि क्षेत्रको विकासमा अग्रणी भुमिका निर्वाह गर्दै आईरहेको थियो ।नेपालको संविधान २०७२ अनुसार नेपाल संघियता पद्दतिमा प्रवेश गरेपछि वि.स. २०७५ साल देखि पुनः जिल्ला कृषि विकास कार्यालयको संरचना, ढाँचा तथा नाम परिवर्तन भई हाल यस कार्यलय कृषि ज्ञान केन्द्र सिन्धुलीको नाममा प्रदेश सरकारको मातहतमा रहेको छ।

      यस ज्ञान केन्द्रले कृषि क्षेत्रमा लागेका कृषकहरुको जीवनस्तरमा सुधार ल्याउन उन्नत कृषि प्रविधि कृषक समक्ष पुर्‍याउने, उन्नत बिउविजन, विरुवाहरुका बारेमा जानकारी गराउनुका साथै वितरण गर्ने र कृषि क्षेत्रमा देखापरेका समस्याहरुको समाधान गर्ने तर्फ सेवा पुर्‍याउंदै आइरहेको छ । यसरी कृषकस्तरमा आधुनिक र वैज्ञानिक प्रविधिहरुको प्रचारप्रसार गरी विभिन्न बाली, तरकारी तथा फलफूलहरुमा उन्नत तरिकाबाट खेती गर्ने सिकाई समग्रमा कृषक समुदायको जीवनस्तर माथि उठाउने कार्य गरीएको छ ।

      कृषि ज्ञान केन्द्र सिन्धुलीले प्रदेश सरकार तथा नेपाल सरकारको आफ्नै श्रोत र साधनको साथै विभित्र दातृ संस्थाहरुबाट प्राप्त अनुदान तथा सहयोगको समुचित परिचालन गरी जिल्लाका सरोकारवाला निकायहरुसँग समन्वय राखी स्थानीय भू–पर्यावरणीय विशिष्टता, संभाव्यता, उत्पादनको माग र तुलनात्मक लाभको आधारमा कृषि बालीहरुको दिगो रुपमा विकास विस्तार गर्नको लागि घोषित कृषि विकासको नीति र उद्देश्य अनुसार कृषिमा विविधिकरण र व्यवसायीकरण, सन्तुलित वातावरण र गरीबी न्यूनिकरणको नारालाई आत्मसात गर्दै कृषकहरु माझ कृषि प्रसार कार्यक्रम सञ्चालन गरी सेवा पुर्‍याउंदै आएको छ ।

      यस जिल्लामा तत्कालिन कृषि विकास कार्यालयको स्थापना पश्चात कृषकहरुले कृषि विकासको उपादेयता र महत्वको बारेमा ज्ञान हासिल गर्दै गएका छन् । जसको फलस्वरुप कृषि क्षेत्रमा क्रमिक रुपमा विकास हुदै गईरहेको पाइन्छ । यस कार्यालयले कृषि उत्पादनमा परिमाणात्मक तथा गुणात्मक वृद्घि ल्याउन तथा कृषक समुदायको उत्थानका लागि मागमा आधारित उद्देश्यमूलक कार्यक्रमहरु, साधन श्रोतको व्यवस्था, बालीनालीको उन्नत उत्पादन सम्बन्धी प्रशिक्षण, तालिम, गोष्ठी आदि कार्यक्रमहरु सञ्चालन गरे पश्चात कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा क्रमशः वृद्घि भई कृषकको जीवनस्तरमा सुधार हुनुका साथै उनीहरुको परम्परागत मनोभावनामा परिवर्तन आउन थालेको छ ।